फिल्म ‘रणवीर’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्रहरू निभाइन्।
यही चैत २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पिताम्बर’मा भने उनी केही फरक भूमिकामा देखिँदैछिन्।
सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिनेछिन्। ‘बिहानी विधवा छिन् र इनोसेन्ट छिन्। उनी कसरी विधवा भइन् भन्ने थाहा पाउन फिल्म हेर्नुपर्छ’, सुपुष्पा भन्छिन्, ‘मैले गर्न खोजेको क्यारेक्टर “पिताम्बर” मा भेटें। यो क्यारेक्टरमा फेज र ग्राफ छ— कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ।’
सुपुष्पाको डेब्यू फिल्म ‘रणवीर’ एक्सन बेस्ड थियो। ‘रणवीर र पिताम्बरको जनरामा समानता भए पनि कथा फरक छ। मेरो क्यारेक्टरमा पूर्ण रूपमा फरकपन पाउनुहुनेछ’, उनी भन्छिन्।
फिल्मका सह–निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन्। ‘यो फिल्ममा काम गर्छु भन्ने योजना थिएन। स्क्रिप्ट सुनेपछि नाइँ भन्न सकिनँ। वान लाइन र मेरो क्यारेक्टरले तान्यो’, सुपुष्पा खुल्छिन्।
‘पिताम्बर’मा अभिनय गरेपछि सुपुष्पाले विधवाको जीवनलाई केही हदसम्म बुझ्न सकेकी रहिछन्। ‘नेपाली समाजमा विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ। आफूलाई माया गर्ने मान्छे नै नहुँदा झनै कठिन हुँदो रहेछ। यो फिल्ममा काम गरेपछि केही बुझ्न पाएँ। अहिले त महिलाहरूले आफ्नो स्ट्यान्ड लिनुभएको छ, उहाँहरू माथि पनि आइरहनुभएको छ’, उनी भन्छिन्।
उनी मल्टिस्टार फिल्म ‘पिताम्बर’मा जोडिन पाउनु आफ्ना लागि भाग्यशाली ठान्छिन्।
‘आफ्नो पात्र निभाउन सक्ने हो कि होइन भन्ने कुराले सुरुमा मलाई गाह्रो लागेको थियो। तर मल्टिस्टार फिल्ममा मैले यति धेरै स्पेस पाएँ भनेर आफूलाई भाग्यशाली ठानेकी छु। यति धेरै कलाकारमा म पनि एउटा हुँ भन्नेमा गर्व लाग्छ’, उनी भन्छिन्, ‘तर काममा प्रेसर चाहिँ हुँदो रहेछ। सबै कलाकारले राम्रो अभिनय गर्नुहुन्छ। मेरो अभिनय कतैबाट चिप्लिने हो कि भन्ने डर थियो। तर आफू तयारी अवस्थामा रहेपछि त्यो डर हराउँदो रहेछ।’
सुपुष्पाको बुझाइमा, राम्रो भिजन भएको व्यक्तिले फिल्म बनाउन सजिलो हुन्छ। ‘महिला वा पुरुष निर्देशक भन्नेभन्दा पनि निर्देशक भनेको निर्देशक नै हो। राम्रो भिजन भएको व्यक्तिले फिल्म बनाउँदा सजिलो हुन्छ। आफूले बनाउन चाहेको फिल्मको दृष्टिकोण प्रस्ट भएको निर्देशकसँग काम गर्न पाउँदा मलाई धेरै सजिलो भयो’, उनी भन्छिन्।
सुपुष्पालाई एक्सन फिल्ममा काम गर्न मन पर्दो रहेछ। ‘एक्सन फिल्ममा आफैंले एक्सन गर्न मन छ। यो चाहना सुरु देखिकै हो। त्यस्तो फिल्मको अफर आएमा स्क्रिप्ट र आफ्नो क्यारेक्टर हेरेर निर्णय लिन्छु’, सुपुष्पा भन्छिन्।